पुट्ट भुँडीले सुन्दरतामा मात्रै होइन, स्वास्थ्यमा पनि असर

  • 30th September, 2021

राम्रो र आकर्षक देखिन सबैलाई मन हुन्छ । आफूले लगाएको लुगा सुहाएको छ कि छैन ? कपालको हेयर स्टायलले म्याच गरेको छ कि छैन ? पुरुषहरुलाई दाह्रीले सुहाएको छ कि छैन ? कस्तो खालको दाह्री राख्ने भन्ने चिन्ता हुन्छ । महिलाहरुलाई भने अनुहारमा मेकअप गर्ने, आँखामा गाजल, ओठमा लिपिस्टिक लगाएर चिटिक्क परेर हिड्न मन हुन्छ । सबैले आफूलाई नै राम्रो भनिदेओस् भन्ने चाहाना सबैको हुने गर्छ । हामी कोही कसैको बिहेमा आफूलाई घण्टौँ सिंगारेर त्यहाँ पुग्दा कसैले तपाईंको पेट त पुट्ट लागेछ भने कति लाजमर्दो हुन्छ ? 

पहिला पहिला पुट्ट भुँडी लाग्नुलाई श्रीमतीले मीठो पकाएर खुवाएर होला भनेर जिस्काइन्थ्यो भने अहिले सन्तुलन भोजन नगर्ने, गाढा र मीठो निद्रा नलिने, रातभर काम गर्ने जस्ता अस्वस्थकर बानीको प्रतिक मान्ने गरिन्छ । त्यसैले मान्छे मोटो भए पनि पेट नलागोस् भनेर धेरै प्रयत्नहरु पनि गरिरहेकै हुन्छन् । कोही पातलै भए पनि पुट्ट भुँडी निक्लिएको हुन्छ । 

हामीले भुँडी घटाउनुअघि किन भुँडी लाग्छ भनेर जान्नु आवश्यक हुन्छ । 

  • कार्बोहाइड्रेट मात्रा बढी भएमा पनि भुँडी लाग्छ । कार्बोहाइड्रेट हुने खानाहरुः भात, रोटी, ढिँडो, मकै, गहुँ आदि हुन् ।
  • खाना बढी र तरकारी कम खाने चलन छ । त्यसमा पनि आलुको मात्रा बढी हुन्छ । 
  • शरीरका लागि पोषण चाहिन्छ भनेर विभिन्न थरीका आहार जस्तै माछा, मासु, अण्डा, दूध, दाल, गेडागुडी लगायत अन्य भारी खाना खाने चलन छ । तर खाना खाइसकेपछि राम्रोसँग पाचन भएर निस्कासन नहुँदा पनि त्यसले बोसोको रुप लिएर भुँडी लाग्ने हुन्छ ।
  • शरीरलाई चाहिनेभन्दा बढी खाएर अर्थात एक गाँस मात्रै बढी खाइयो भने पनि त्यसले बोसोको रुप लिन्छ । 
  • मैदाजन्य, जंक, चिनीबाट बनेका, चिल्लोमा तारे भुटेका, चिया, कफी, कोल्डड्रिंक्स, चकलेट, आइसक्रिम जस्ता खानेकुरा खाँदा पनि पेट बढ्छ । खानासँग पानी धेरै खाने र बीचबीचमा कुचुकुचु खाने बानीले पनि पेट बढ्छ ।>
  • निष्क्रिय जीवनशैलीः खाएको क्यालोरी खपत गर्न विभिन्न शारीरिक क्रियाकलाप गर्नुपर्नेमा कुनै गतिविधि नगरी बस्नु, कम्प्युटर वा स्क्रीनमा मात्र दिन बिताउनु र बसिरहनु मोटोपनको प्रमुख कारण हो ।
  • शारीरिक रोगहरु र विभिन्न औषधीको सेवनः जोर्नी दुख्ने जस्ता समस्याका कारण हिंड्डुल गर्न वा शारीरिक क्रियाकलाप गर्न नसक्दा तौल बढ्न सक्छ । यसैगरी डिप्रेशन, मधुमेह, मानसिक रोग, उच्च रक्तचापका औषधी वा स्टेरोवाईड औषधीहरु सेवन गर्दा पनि मोटोपन विकसित हुनसक्छ ।
  • समाजको खाना खाने बानी र परिकारहरु, आर्थिक अवस्था उच्च हुनेहरु, खाना बनाउने प्रचलन, चाडपर्वहरु, मनोरञ्जनका क्रियाकलाप, साथीभाईसँगको संगत, परिश्रम गर्ने सामाजिक बानी व्यवहार जस्ता आदि तत्वहरुले पनि उच्च क्यालोरी संचित हुनपुग्दा मोटोपन बढ्न सक्छ ।
  • भोक लगाउने ग्रेहलिन र भोक दबाउने लेप्टिन जस्ता हर्मोनको असन्तुलन भएमा वा ती हर्मोनले राम्रो सन्तुलित तवरले काम गर्न नसक्दा भोक लाग्ने र भोक लाग्दा बढी खाना खाइने भएकोले मोटोपन बढ्न सक्छ ।
  • धुमपान त्याग गर्नासाथ स्वास्थ्यमा राम्रो प्रभाव पर्ने भएकोले खाना रुच्ने हुँदा तौल बढ्न सक्छ ।
  • प्रशस्त निदाउन नसक्दा वा बढी मात्रामा सुत्दा यी दुवै अवस्थामा हर्मोनमा परिवर्तन आई भोक बढ्छ र तौल बढ्न सक्छ ।
  • बढी तनाव हुँदा उच्च क्यालोरीयुक्त तयारी वा पत्रु खाना खाने भएकोले यसबाट तौल बढ्न सक्छ ।
  • पाचन प्रणालीमा हुने फाइदाजनक किटाणुहरुले खानाको उपस्थिति अनुसार कार्य गर्ने भएकोले तौल बढाउनमा भुमिका निर्वाह गर्न सक्छन् ।
  • तौल घटाउन पहिला प्रयास गरेको र हाल नगरेको अवस्थामा झन् बढी क्यालोरी सञ्चित हुनथाल्छ र तौल बढ्न सक्छ आदि ।

पेटमा बोसो लाग्न नदिनको लागि पेट खलास हुन जरुरी छ

शरीरलाई पोषक आहार जति आवश्यक हुन्छ त्यति नै निष्कासनका लागि अर्थात पेट खलास गर्नको लागि रेशा, छोक्राबोक्रा प्रशस्त भएका आहार चाहिन्छ । रेशा, छोक्राबोक्रा भएका आहारमा नफलेको चामल, चोकरसहितको पिठो, गहुँ, मकै, कोदो, फापर आदि एक दलीय अन्न, ताजा हरिया सागसब्जी, काँचो खानेकुरा सलाद र फलफूल पर्छन् ।

कसरी खाने ? कति खाने ?

स्वस्थ शरीरका लागि खाना अत्यावश्यक छ । तर, मिलाएर आवश्यकताअनुसार खानाको छनोट गर्न भने सक्नुपर्छ । किनभने, असन्तुलित भोजन र आवश्यकभन्दा बढी खानाले स्वास्थ्यमा असर पु–याउँछ । कहिले टन्न खाने र कहिले खाँदै नखाने बानीले स्वास्थ्यमा खराब असर पार्छ ।

–तौल र उचाइअनुसार खानाको मात्रा मिलाउन जरुरी हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि २ हजार किलोसम्म क्यालोरी आवश्यक हुन्छ । पुरुषले भने १८ देखि २४ सयसम्म क्यालोरी सेवन गर्नुपर्छ ।

–दैनिक रूपमा ४–५ पटक खानुपर्ने हुन्छ । त्यसैले थोरै, तर छोटो–छोटो समयमा खान आवश्यक हुन्छ ।

–कहिल्यै पनि पेट टम्म हुने गरी खानुहुँदैन । डिनरमा त्यति धेरै खाने बानी गर्नुहुँदैन । किनकि, रातमा शारीरिक क्रियाकलाप नहुने भएकाले खाना पच्न समय लाग्छ । खाना अपचले मोटोपनको समस्या निम्त्याउँछ ।

–सकेसम्म मासु सेवन गर्नुहुँदैन । यदि गरिहालेमा पनि ३ देखि ५ टुक्रा मात्र सेवन गर्नुपर्छ । मानिसको स्वास्थ्यका लागि रातो मासु अत्यन्त हानिकारक हुने भएकाले यसको सेवन नगर्दा राम्रो हुन्छ ।

–हामीले पानी पिउँदा पनि होसियारी अपनाउनुपर्छ । कहिल्यै पनि एकैपटकमा धेरै पानी पिउनुहुँदैन । दैनिक कम्तीमा डेढदेखि २ लिटरसम्म पानी पिउनुपर्छ, तर थोरै–थोरै गरी । एकैपटक बढी पानी पिउँदा किड्नीमा असर पुग्न सक्छ ।

–दैनिक आहारमा हरियो सागपात, गेडागुडी, फलफूल, पहेँलो र हरियो खानेकुराको अत्याधिक प्रयोग गर्नुपर्छ । एक कचौरा भात छ भने दुई कचौरा जति तरकारी, एक कचौरा दाल अनि सलाद खानु राम्रो मानिन्छ ।

–बिहान उठेपछि खाली पेटमा मनतातो पानी सेवन गर्नुपर्छ । यसले स्वास्थ्यमा थुप्रै फाइदा पुर्याउँछ ।

के तपाईंले शरीरको भाषा बुझ्नुहुन्छ ?

हामीले शरीरको भाषा बुझ्नु अत्यन्तै आवश्यक छ । अहिले हामीहरु यति व्यस्त हुन्छौँ कि हामीलाई एक मिनेट पनि आफ्नो शरीरमा के भइरहेको छ ? कुन खानाले कस्तो असर गरिरहेको छ भनेर थाहै हुन्न । त्यसैले पनि अहिले धेरै प्रकारका जटिल रोगहरुको घर बनेको छ मान्छेहो शरीर । हामीले खाना खाँदा मात्रै आफ्नो खाना र शरीरमा त्यसले पार्ने प्रभाव बारेमा विचार गर्न सक्यौँ भने समयमै उपचार गरेर स्वस्थ रहन सक्छौँ । 

यसरी बुझ्नुहोस् शरीरको भाषा

जब हामी खाना खान्छौं तब हाम्रो पेट भरिँदै जान्छ । भरिँदै गएपछि पेटले संकेत दिन थाल्छ । संकेतका रूपमा पहिलो डकार आउँछ । पहिलो डकारको संकेत हो– पेट भरियो, अब खाना कम गर ।

डकार वेवास्ता गरी त्यही अनुपातमा खाना खाएमा दोस्रो डकारले संकेत दिन्छ । दोस्रो डकारको संकेत हो– अब पूर्ण रूपमा पेट भरियो, खाना बन्द गर ।

तर यसको पनि बेवास्ता गरेर खाएमा खाना विष सरह बन्छ ।

हामीले एकैपटक बढी पानी पिए पेटले तुरुन्तै संकेत गर्छ। एकै पटक धेरै पानी पिउँदा पेट फुल्छ, डुम्म हुन्छ ।

खाना खानेबित्तिकै भारी व्यायाम गर्ने, दौडने, कुद्ने र सुत्ने गर्नाले पेटले अप्ठ्यारो भएको संकेत दिन्छ ।

हामीले चर्को रिस, तनाव आदिमा खाना खाएमा पाचनमा गडबडी हुन्छ । यसको लागि हामीले शरीरलाई अलिकति मिहिन तरिकाले हेर्नुपर्ने हुन्छ । 

पेटै उकुसमुकुस हुने गरी खाना किन खानुहुन्न ?

शरीरलाई चाहिनेभन्दा एक गाँस मात्र बढी खाए पनि पेट उकुसमुकुस हुन्छ । उकुसमुकुस हुने गरी होइन, पेटको एक भाग खाना, एक भाग पानी र एक भाग खाली हुनेगरी खानुपर्छ । शरीरलाई चाहिनेभन्दा एक गाँस बढी पनि, पेट बढ्ने र यसले रोग निम्त्याउने खतरा बढ्छ ।

भुँडी लागिहाल्यो । अब के गर्ने ? 

भुँडी लागिहाल्यो भने अब खानपान र जीवनशैलीमा ध्यान दिनुपर्छ । भुँडी घटाउने विभिन्न तरिकाहरु छन्

  • खानेकुरामा नियन्त्रण गरेर
  • व्यायाम, योग, शारीरिक गतिविधि आदिको माध्यमबाट
  • उपवास बसेर
  • घरेलु तरिकाको प्रयोग गरेर
  • अप्रेसन गरेर

https://healthhelpline.com.np/articles/details/do-you-get-unnesessary-weight

अर्को लेखमा हामी भुँडी घटाउने तरिकाहरुको बारेमा उल्लेख गर्नेछौँ ।

 

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment