युरिक एसिड र बाथरोग एकै होइनन् । बाथरोगको बारेमा यति कुरा जानिराख्नुहोस् ।
-
- 22nd October, 2021
बाथ रोग के हो ?
शरीरमा रोगसँग लड्न सक्ने ‘इम्युन सिस्टम’ अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने रोग हो बाथ । शरीरले रोगसँग लड्ने रसायनहरु निकाल्दा त्यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुर्याउँछ, त्यही हानीले पुर्याउने रोग नै बाथरोग हो ।
बाथ रोग नसर्ने दीर्घ रोग हो । यो रोगको औषधि बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ। धेरैजसो बाथरोग औषधि सेवन गरुन्जेल निको भएजस्तो हुने तर औषधि सेवन गर्न छाडेपछि फेरि बल्झने खालका हुन्छन् । समयमा उपचार नपाउँदा बाथरोग मृत्युको कारण पनि बन्न सक्छ ।
बाथ रोग जोर्नी दुख्ने मात्र नभई अन्य रोगको लक्षणका रुपमा पनि देखा पर्छ । कहिलेकाहीँ एक्लो रोगका रुपमा पनि बाथरोग देखा पर्न सक्छ भने कहिलेकाँही अन्य रोगसँग मिसिएर पनि देखिन्छ ।
बाथरोगलाई चिनिने नामहरु
- अस्टियो पोरोसिस, अस्टियो नेक्रोसिस
- रिउमाटोइड आरथ्राइटिस (आरए)
- जुभेनाइल इडियो प्याथिक अरथ्राइटिस (जेआईए)
- जोग्रेन सिन्ड्रोम (एसएस)
- इन्फ्लामेटरी मायोप्याथी (डर्माटोमायोसाइटिस डाइमोसाइटिस)
- भास्कुलाइटिस (स्मल भेसल/लार्ज भेसल/मिडियम भेसल)
- क्रिस्टल आर्थ्रोप्लास्टी (युरिक एसिड र अन्य)
- अस्टियो आर्थ्राइटिस (ओए)
- स्पोन्डिलो आर्थ्राइटिस (एसपिए)
- कनेक्टिभ टिस्यु डिस्अर्डर (एसएलई)
- स्क्लेरोडिमा
बाथ रोग भनेर माथि उल्लेख गरिएकोलाई बताइए पनि यी रोगहरुको लक्षणहरु फरक–फरक हुन्छ । नेपालमा जोर्नीसँग सम्बन्धित केही दुखाई या रोग देखिने बित्तिकै बाथ भन्ने चलन छ । बाथ रोग धेरै नै जटिल र विस्तृत रोग पनि हो । नेपालमा मात्रै २०० किसिमका बाथ रोगहरु पाइएको छ ।
बाथरोगका लक्षणहरु केके हुन् ?
बाथरोग लागेका ९० प्रतिशतमा देखिने लक्षणमा सामान्यतया जोर्नी दुख्ने नै हुन्छ । जोर्नी सुन्निने, रातो हुने समस्या हुन सक्छ ।
- हातखुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने
- चिसो पानीमा हात डुबाउँदा, पानी चलाउँदा या जाडो मौसममा हातका औंलाहरु नीलो र सेतो हुने
- बिस्तारै आफ्ना जोर्नी र औंलाहरु बाङ्गिएको महसुस हुने
- अनुहार, हातसहित शरीरका मांसपेसीहरु कस्सिएर आउने
- बिहान उठ्ने बेलामा जोर्नीहरु करकर गर्ने र केही बेरपछि जोर्नी खुल्दै आउने
- छाला चाउरी नपर्ने, नखुम्चने र औंलाका टुप्पोमा घाउ आउने
- फोक्सोमा समस्या हुने
- खोकी लाग्ने र लामो समयसम्म निको नहुने र खोक्दा रगत आउने
- मुख एकदम सुख्खा हुने र खाना निल्दा पटकपटक पानी पिउनुपर्ने
- मुख सुख्खा भएर गिजामा घाउ आउने
- आँखा सुख्खा हुने र आँखामा बालुवा पसेजस्तो भएर बिझाउने
- थुक निकाल्ने ग्रन्थीहरु सुन्निने र गाला फुलेको र सुन्निएको जस्तो देखिने
- फोक्सोमा असर गरी स्याँ–स्याँ हुने
- किड्नी फेल हुन्छ ।
- दिमागमा असर परी छारेरोगी हुने
- गोडा बाङ्गिएर अपाङ्ग हुने
- हातगोडाका नलीमा रगत जमेर औंला झर्नेसमेत हुन्छ ।
- कपाल झर्ने हुन्छ ।
- गर्भ नरहने हुन सक्छ ।
- कसैको मुख सुख्खा हुन्छ ।
- आँखा रातो हुने, दुख्ने
- मुखमा र गुप्ताङ्गमा बारम्बार घाउ–खटिरा आउने
- लामो समयसम्म ज्वरो आउने र ज्वरोको कारण पत्ता लगाउन गाह्रो हुने
- आँखा रातो हुने
- हात गोडाका एउटा मात्र औंला सुन्निएर आउने
- जोर्नी दुख्ने, ढाड दुख्ने आदि मुख्य लक्षण हुन् । रातिमा बढी ढाड दुख्नु पनि ढाडको बाथको लक्षण हो । त्यस्तो बाथ काम गर्दा र एक्सरसाइज गर्दा अलि कम हुन्छ ।
- १२ हप्ताभन्दा पछी बच्चा गर्भ नरहने वा खस्ने समस्या छ भने त्यो बाथको कारण हो ।
- रक्तनलीमा रगत जम्ने, त्यसपछि हातखुट्टा झमझम गर्ने र छारेरोग सबै बाथको लक्षण हो ।
- हातगोडा बाङ्गिने, गाँठागुँठी आउने, पेट दुख्ने, डाबर आउने, चिलाउने पनि बाथको लक्षण हो ।
- मस्तिष्कमा बाथरोग लागेको छ भने मिर्गी रोग लाग्ने वा बेहोस हुने समस्याहरु देखिन सक्छ । कुन अङ्गमा बाथरोग लाग्छ, त्यस अनुसार फरक फरक लक्षण हुन सक्छ ।
यी सबै लक्षण सबैखाले बाथरोगमा देखिँदैन । तर, बारम्बार यस्ता लक्षण देखिए बाथरोग विशेषज्ञकहाँ गएर परामर्श लिनु उपयुक्त हुन्छ ।
के हड्डी खिइनु पनि बाथ रोगकै लक्षण हो ?
साधारण रुपमा हामी सबैलाई ढाड दुखेकै हुन्छ । हड्डी दुख्ने बिभिन्न कारणमध्ये हड्डी खिइएर पनि हो । बुढापाका मानिसलाई उमेरका कारण हड्डी खिइएर ढाड दुखेको पाइन्छ तर बाथरोगका कारण हुने ढाड दुखाइ अलि भिन्न किसिमको हुन्छ ।
ढाड दुखाइ राति बढी हुन्छ र दुखेर निद्राबाट उठ्नुपर्ने र ओल्टेकोल्टे फेर्न समेत नसकिने हुन्छ । बिहान उठ्ने बित्तिकै कक्रक्क परेर हलचल गर्न समेत गाह्रो हुन्छ । केहीबेर तन्काएपछि र काम तथा कसरत गर्न थालेपछि मात्र दुखाइ कम हुन्छ ।
यस्तो खालको दुखाइमा काम, कसरत र दुखाइ कम गर्ने औषधि सेवन गरेपछि बिरामीले राहत महसुस गर्छन् । बाथरोगको समयमै निदान, निरुपण र उपचार नभएमा रोग जटिल अवस्थामा पुग्छ र बिरामी चलमल गर्न नसक्ने भएर थला पर्छन् ।
बाथरोगका औषधिहरु
- बाथरोगका औषधिहरुलाई डिमार्ड्स भनिन्छ । यी औषधि लामो समयसम्म सेवन गर्नुपर्ने हुन्छ । औषधि कहिलेसम्म खाने, कहिले कम गर्ने र कहिले बन्द भन्ने कुरा चिकित्सकको निगरानीमा गर्नुपर्छ ।
- बाथ रोगका औषधि ‘इम्युनोसप्रेसिभ’ (रोग प्रतिरोधात्मक क्षमता कम गर्ने) किसिमका भएका कारण समय–समयमा यी औषधिका असरबारे जान्न रगत, पिसाब, एक्सरे लगायतका जाँच गर्नुपर्ने हुन्छ ।
- खाने औषधिबाहेक नशामा या छालाको बोसोमा दिने सुईहरु पनि हुन्छन् । यी सुईहरु केही सातामा एकपटक र केही दुई सातामा एकपटक वा दुई महिनामा एकपटक दिनुपर्ने किसिमका हुन्छन् ।
बाथरोगको कसरी उपचार गर्न सकिन्छ ?
- बाथरोगका अनेक प्रकार हुन्छन् । कुन किसिमको बाथरोग लागेको छ, सोहीअनुसार यसको उपचार गरिन्छ । बाथरोगको उपचारका लागि हामीले दुई–तीन किसिमको सिद्धान्त हेर्नुपर्ने हुन्छ । यो रोग प्रतिरोधात्मक क्षमतामा गडबडीका कारण लाग्ने रोग हो । यो रोगको उपचारमा सिद्धान्ततः हामीले रोग प्रतिरोधात्मक क्षमताको सन्तुलन मिलाउन सक्नुपर्यो अर्थात् यसलाई सन्तुलनमा राख्नुपर्यो ।
- आम मानिसको बुझाइमा के छ भने रोगसँग लड्न सक्ने शक्ति कमजोर भयो भने बाथरोग लाग्छ भन्ने सोच छ, त्यो गलत हो । बाथरोग रोग प्रतिरोधात्मक क्षमतामा असन्तुलन भएपछि त्यसले चाहिने ठाउँमा आक्रमण नगरीकन नचाहिने ठाउँमा आक्रमण गरिरहेको हुन्छ । गलत ठाउँमा काम गरिरहेको हुन्छ, त्यसले गर्दा यसको उपचार पनि फरक फरक तरिकाले हुन्छ ।
- बाथरोगको एउटा समूहको औषधी हुन्छ, बिरामीको जोर्नी दुखाई कम गर्ने औषधी । यस्ता औषधीहरु पनि फरक फरक हुन्छन् । समूहअनुसार औषधी पनि फरक फरक हुन्छ । बाथरोगमा रोग प्रतिरोधात्मक पद्धति मिलाउनुपर्ने खालका औषधीहरु पनि हुन्छन् ।
- आजभोलि बायोलोजिकल एजेन्ट भनिने औषधी पाइन्छ, जसले रोग प्रतिरोध क्षमतालाई विषेश जोड दिएर काम गर्छ । यसमा रोगअनुसार विभिन्न किसिमले उपचार हुन्छ ।
- लक्षण देखिनेबित्तिकै चिकित्सककहाँ जानुपर्छ ।
- आराम गर्ने
- जोर्नीहरु धेरै दुख्यो भने चिसो या तातोले सेक्ने
- तौल कम गर्ने
- शारीरिक अभ्यासमा जोड दिने
- जोर्नी प्रत्यारोपणको उपचार
- एन्टी बडी चेकअप
- हातगोडा बाङ्गिएपछि सिधा हुँदैन । त्यसैले लक्षण देखिन थाल्नासाथ सुरुको अवस्थामा नै उपचार गर्नु जरुरी छ ।
युरिक एसिड हुने व्यक्तिलाई मात्रै बाथरोग हुन्छ ?
धेरैलाई यूरिक एसिडको बाथरोग हुने गरेको छ । नेपालमा बाथरोग भन्ने बित्तिकै यूरिक एसिड भनेर बुझ्ने चलन छ । यूरिक एसिड भनेको बाथरोग हो तर सम्पूर्ण यूरिक एसिड भनेकै बाथरोग चाहीँ हैन ।
यूरिक एसिडको बाथरोगमा नदुख्ने औषधीहरु, यूरिक एसिड घटाउने औषधी दिइन्छ । विभिन्न किसिमको बाथरोगमा विभिन्न किसिमका औषधीहरु दिने गरिएको छ ।
अन्य रोगसँग बाथरोगको सम्बन्ध हुन्छ कि हुँदैन ?
- डायबिटिज भएको मान्छेलाई प्रेसर हुने सम्भावना बढी हुन्छ । थाइराइड भएको मान्छेलाई फलानो रोग लाग्न सक्ने बढी सम्भावना हुन सक्छ । त्यस्तै, बाथरोग भएको मान्छेलाई अरु रोग पनि हुन सक्छ । तर सामान्यतया बाथरोग भएको मान्छेलाई यही रोग हुन्छ भन्ने चाहीँ हुँदैन ।
- जस्तो, यूरिक एसिडको बाथरोगसँगै हामीले उच्च रक्तचाप भएको देख्न सक्छौँ, रक्तचाप उच्च भएको मान्छेमा यूरिक एसिडको मात्रा बढी पाइन्छ । यस्तै मिर्गौलाका रोगीहरुमा मिर्गौलाले राम्ररी काम गर्न नसक्दा यूरिक एसिडको मात्रा बढ्दै जाने र त्यसले गर्दा यूरिक एसिडको बाथ रोग हुन सक्छ ।
- यूरिक एसिडको बाथरोगमा अर्को देखिन सक्ने साझा समस्या जिउमा बोसोको गडबडीको समस्या हो । यूरिक एसिडको बाथरोग भएकाहरुमा कलेजोमा बोसो धेरै जमेको देख्न सक्छौँ ।
बाथरोग कस्ता व्यक्तिहरुलाई बढी लाग्छ ?
- सामान्यतः बाथको समस्या बढी महिलालाई देखिन्छ भने पुरुष पनि यसका शिकार हुन्छन् ।
- बाथरोग जन्मेको बच्चादेखि लिएर मृत्यु हुन लागेको वृद्धवृद्धासम्म जुनसुकै उमेरमा देखिन सक्छ । फरक यति हो, कुन किसिमको बाथरोग देखिन्छ । जन्मेको बच्चामा लुपसहरु देखिन्छ । यस्तै नौ, दश, बाह्र बर्षका बच्चाहरुमा पनि देखिन्छ । यस्तै १८ देखि ४० बर्ष उमेरसम्म रिमोर्टर आर्थराइटिस भन्ने हड्डीसम्बन्धी समस्या देखिन्छ । स्पाइनल आर्थोपाठी भन्ने १५ देखि ४० बर्षसम्म पुरुषहरुमा देखापर्छ ।
- ४०–५० पुगेपछि हड्डी खिइने बाथरोगहरु देखापर्छ । जन्मेको बच्चादेखि लिएर वृद्धवृद्धासम्म कुनै पनि उमेर समूहमा बाथरोग देखिन सक्छ । महिला–पुरुष जसलाई पनि बाथरोगले सताउन सक्छ । कुन उमेर अनुसार कस्तो बाथरोग लाग्छ भन्ने मात्र फरक हो ।
बाथ रोगमा के खाने ? के नखाने ?
- फ्राइ गरेको या प्याकेटको खाना
अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु खानुहुन्न । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ ।
- बढी तताइएको खाना
सन् २००९ मा गरिएको एक अध्ययनले बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने तथ्य पत्ता लगाएको थियो । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ ।
- चिनी
आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।
- दुग्धजन्यपदार्थ
दूध दही शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भरपूर क्याल्सियम पाइन्छ । तर बाथका रोगीहरुका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ ।
- मदिरा र सूर्तिजन्य पदार्थ
मदिरा र सूर्तिजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ । झन् बाथका रोगीले त यसलाई छुनै हुन्न । यसले जोर्नी दुख्ने क्रम बढी पार्छ । साथै शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ ।
- चिकित्सकले भनेबमोजिम औषधीको मात्रा प्रयोग गर्नुपर्छ । १ महिनापछि अस्पतालमा डाक्टरले बोलाउँदा ‘मलाई ६ महिनाको औषधि दिनुस् घर टाढा छ पछि आउँछु’ भन्न हुँदैन बाथको औषधिले अरू अंगमा असर गर्छ, त्यसैले १ महिना खाने फेरि नखाने गर्नुपर्छ तर चिकित्सकको सल्लाहबमोजिम मात्रै प्रयोग गर्नुपर्छ ।
- बजारमा पाइने विभिन्न आयुर्वेदिक औषधि त्यसै किनेर खाने गरेको पाइएको छ तर त्यसो गर्नु हुँदैन । त्यसले भित्रभित्रै असर गर्छ । हड्डी मक्काउनेदेखि विभिन्न असर गर्छ । नाम नखुलेका औषधि खानु हुँदैन ।
- बूढाबूढी भएका वा महिनावारी रोकिएका महिलाहरूले क्याल्सियम र भिटामिन डी समय समयमा खानुपर्छ । महिनावारी रोकिएपछि हड्डी खिइने रोग लाग्छ । त्यसैले भिटामिन डी र क्याल्सियम खानु जरुरी छ ।
के तपाईंलाई थाहा छ ?
- बाथरोग लागेपछि दही खान हुँदैन भन्ने भ्रम छ । कुनै पनि किताबमा दही खान हुन्न भनेर लेखेको छैन ।
- चिसोको कारण बाथरोग लाग्छ या बल्झन्छ भन्ने कुरा पनि सही होइन ।
- बाथरोगमा कुनै पनि खानेकुरा बार्नुपर्ने भन्ने नै हुँदैन । कसैलाई के खाँदा हुन्छ त, कसैलाई के खाँदा, त्यो डाक्टरलाई समेत थाहा हुँदैन । त्यसैले जे खाँदा बढी हुन्छ, त्यो नखाने गर्नुपर्छ, तर अत्यधिक रूपमा खानु हुँदैन । रातो मासु र गेडागुडी सञ्चो भएको समयमा भन्दा कम खानुपर्छ ।
- कुनै–कुनै बाथ रोग उपचार गरेर निको नहुने हुन्छन् । खानपान बारेर बाथरोग निको हुँदैन ।
- बाथरोग समयमा नै पहिचान गरी उपचार गर्न सकिन्छ तर बाथरोग पहिल्यै नहुनका लागि के गर्ने भन्ने हुँदैन । बाथ हुँदै नहुनका लागि नियम, कानुन र उपचार केही छैन । कसलाई हुन्छ भन्ने कसैलाई थाहा हुँदैन ।
- पिनास पनि बाथरोग हो । खोक्दा रगत आउँछ, त्यसले फोक्सो र मृगौलालाई असर गर्छ, त्यो बाथरोगको वर्गमा पर्छ ।
Leave Comment