माइग्रेन (Migraine Symptoms, Causes and Treatment)

  • 4th July, 2021

माइग्रेन भनेको के हो?

माइग्रेनको टाउको दुखाइ नियमित रूपमा हुँदैन । केही दिन बिराएर टाउको दुख्न थाल्छ। यसलाई अर्को भाषामा ‘इपिसोडिक हेड्याक’ भनिन्छ । कसैलाई हप्तामा एकपटक दुख्न सक्छ, कसैलाई दुईपटक । कसैलाई दुई महिना र कसैलाई वर्षको अन्तरमा । जतिबेला टाउको दुख्छ, त्यतिबेला असह्य पीडा हुन्छ । कतिपय ठाउँमा आधा टाउको दुख्ने रोग भनेर पनि चिनिन्छ । कसैलाई पछाडि त कसैलाई अगाडिको भागमा दुख्ने हुन्छ । केहीलाई भने पूरै टाउको दुख्ने समस्या देखा पर्न सक्छ । 

 माइग्रेन (Migraine Symptoms, Causes and Treatment)
यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । माइग्रेनले गर्दा बेलाबेलामा टाउको दुख्छ र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहन पनि सक्छ । यो न्युरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ ।

माइग्रेन हुने कारणहरु केके हुन् ?

• विभिन्न शोध–अनुसन्धानअनुसार करिब ३ महिलालाई माइग्रेन हुँदा एक पुरुषमा मात्र यो रोग देखा पर्छ । किनभने महिलामा हर्मोनल परिवर्तन ज्यादा हुन्छ । महिनावारीको अघिपछि , गर्भावस्थामा टाउको दुख्ने समस्या आइलाग्छ । पिल्सलगायत अस्थायी परिवार नियोजनका औषधि सेवन गर्ने वा रसायनयुक्त साधन प्रयोग गर्नेहरूलाई माइग्रेनको सम्भावना बढी हुन्छ ।
•  तनावका कारण पनि माइग्रेनको समस्या हुन्छ । तनावले मस्तिष्कमा सीधा असर पार्छ । कहिलेकाहीँ मस्तिष्कले त्यस्ता पदार्थ निकाल्छ । यसले गर्दा माइग्रेन टाउको दुखाई हुन्छ। अत्यधिक या अपर्याप्त निद्राका कारण पनि माइग्रेन हुन्छ ।
•    कफिनको अत्यधिक प्रयोग पनि माइग्रेनको कारण हो । अत्यधिक कफी सेवन गर्दा र अत्यधिक कफी सेवनलाई एकैपटक बन्द गर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ ।
•  वातावरणमा आउने परिवर्तनले पनि माइग्रेन हुन्छ । धेरै चर्को हल्लाहरु, भीडभाड पनि माइग्रेनको कारण बन्न सक्छ । अधिक प्रकाश र अत्यधिक गर्मीले पनि माइग्रेन हुन्छ । तापमानमा हुने परिवर्तनको कारण पनि अत्यधिक टाउको दुखाइ हुन सक्छ ।
• धूम्रपान र मदिराको अधिक सेवन माइग्रेनको कारक हो । चकलेट, मसलेदार खानेकुराले पनि माइग्रेन हुन सक्छ ।
• माइग्रेनलाई वंशानुगत रोगका रूपमा पनि लिइन्छ । मस्तिष्कमा जैविक रसायनहरूको असन्तुलन हुँदा टाउको दुख्ने वैज्ञानिकहरूको अनुमान छ । माइग्रेन हुँदा मस्तिष्कको काममा परिवर्तन आउँछ । यसले गर्दा रक्तनली तथा मस्तिष्क वरिपरिका नसाहरू सुन्निन्छन् ।

माइग्रेनका लक्षणहरु केके हुन् ?
•     टाउकोको एउटा भागबाट दुख्न सुरु हुन्छ र पूरै भाग चर्को दुखाइले आक्रान्त बन्छ ।
•    जुन मानिस माइग्रेनको दुखाइबाट पीडित हुन्छ, उसले कुनै पनि नियमित काम गर्न सक्दैन । यसले आँखा दुखाउनुका साथै बान्तासमेत हुने गर्छ ।
•    यस्तो समस्या भएका मानिस प्रकाश, ध्वनि र गन्ध परिवर्तनप्रति निकै संवेदनशील हुन्छन् ।
•    माइग्रेनको टाउको दुखाइले मानिसमा निकै छटपटी सिर्जना गर्छ ।
•    माइग्रेनको समस्या भएका मानिसमा कहिल्यै पनि राम्रोसँग निद्रा पर्दैन । र शरीरमा थकान महसुस हुन्छ ।
•    माइग्रेनले अत्यधिक आँखा दुख्नुका साथै आँखा चिम्लिँदा जलन हुन्छ ।
•    माइग्रेनले मुडमा तीव्र परिवर्तन ल्याउँछ । यसले मानिस विनाकारण अकास्मात् उदास र उत्साहित हुने गर्छन् ।
•    माइग्रेनको दुखाइ हुनुभन्दा पहिले खानाप्रति निकै आशक्ति राख्ने गर्छन् ।
•    यस्ता मानिसलाई पटक–पटक पिसाब लागेको अनुभूति हुन्छ ।


माइग्रेन भएकाहरुले के गर्ने ?
•    निद्राको अभावले माइग्रेनका लागि ट्रिगरको रूपमा काम गर्छ । जसले गर्दा माइग्रेनको समस्या बढ्दै जान्छ । राम्रो स्वास्थ्यका लागि निश्चित समयमा निदाउनु आवश्यक हुन्छ । बढी सुत्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
•    एक्सरसाइजमा ध्यान दिनुपर्छ । एक्सरसाइजले तनाव कम गर्नुका साथै दिमागमा सकारात्मक सोचको विकास गर्छ । जब तपाईं व्यायाम गर्नुहुन्छ, त्यसपछि शरीरले फाइदाजनक हर्मोन रिलिज गर्न थाल्छ ।
•    माइग्रेनबाट ग्रसित मानिसले टाउको दुखाइको औषधि अत्यधिक सेवन गर्नु हुँदैन । बढी र पटक–पटक औषधि सेवन गर्दा माइग्रेनलाई झन् खतरनाक असर पर्न सक्छ । त्यसैले औषधि प्रयोग गर्नुपूर्व यसको परिणामबारे पनि चिकित्सकसँग परामर्श गर्न आवश्यक छ ।
•    सन्तुलित आहारले माइग्रेनको समस्या अन्त्य हुन सक्छ । आहारमा चकलेट, पनिर, कफी, मदिराजस्ता पदार्थ प्रयोग गर्नु हुँदैन । बरु म्याग्नेसियम र हरियो सागपातको बढी प्रयोग गर्नुपर्छ । अमिलो खानेकुराबाट बच्नुपर्ने हुन्छ । शरीरलाई हाइड्रेट राख्नका लागि दैनिक करिब सात गिलास पानी पिउनु उपयुक्त हुन्छ । खानामा ओमेगा थ्री, फ्याट एसिड र भिटामिन बीको प्रयोग गर्नु राम्रो हुन्छ ।

सबै टाउको दुखाई माइग्रन हो ? कसरी थाहा पाउने ? 
 माइग्रेन अत्यधिक टाउको दुख्ने समस्या हो । यो टाउको दुखाइको एउटा प्रकार मात्रै हो । सबै टाउको दुखाइ माइग्रेन नहुन सक्छ । टाउको दुखाइको अन्य कारण भेटिएन भने त्यो माइग्रेन हो । यसमा सबै परीक्षणका रिपोर्ट सामान्य नै आउँछन् । सिटीस्क्यान होस् या रगत परीक्षण; रिपोर्ट सामान्य नै आउँछ । अन्य रेडियोलोजिकल जाँचको रिपोर्टले सामान्य अवस्था देखाए पनि बिरामीको टाउको दुखाइ कम हुँदैन । कतिपय अवस्थामा घरपरिवारका सदस्यसमेत उल्टै बिरामीलाई शंका गरिरहेका हुन्छन् । भनिरहेका हुन्छन्, ‘सबैतिर लगियो । केही रोग देखिँदैन । कतै नाटक त होइन !’ यसले बिरामीलाई पीडामाथि थप पीडा दिन्छ  । 
माइग्रेन टाउको दुखाई वंशाणुगत पनि हुन्छ । टाउको दुख्ने औषधी खाएर पनि त्यसले राहत दिएन भने तपाईंलाई माइग्रेन भएको हुनसक्छ ।
भोको पेट बसिरहने, व्रत बस्ने र धेरै समय अनिदो रहने मानिसलाई पनि माइग्रेनको जोखिम हुन्छ । त्यसैले हामीले भनिरहेका हुन्छौं कि माइग्रेनका बिरामीले दैनिक ६ देखि ८ घन्टा सुतेको हुनुपर्छ । राति काम गर्ने मानिसहरू पनि माइग्रेनका सिकार हुने सम्भावना उच्च रहन्छ । बढी तनावपूर्ण जीवनयापन गर्ने, धेरै सोच्नुपर्ने, मानसिक काम बढी गर्नुपर्नेलाई माइग्रेन बढी भएको पाइन्छ । 

माइग्रेनको उपचार कसरी गर्ने ?
•    खाने र लगाउने औषधि मात्रै होइन पारिवारिक वातावरणले पनि माइग्रेनको समस्या समाधान गर्न सघाउ पु¥याउँछ । परिवारका सदस्यहरूले बिरामीको समस्या बुझेनन् भने तनाव झनै बढेर जाने भएकाले शान्त वातावरण सिर्जना गरिदिनुपर्छ । 
•    खाद्यान्न, पोषणजस्ता कुराहरूले पनि यो समस्या निराकरणमा भूमिका खेल्छ । फर्मेन्टेड खाना जस्तैः दही, मही, पनीर, आइसक्रिम आदि सकेसम्म खानु हुँदैन । माछामासु नखाँदा राम्रो । अमिलो, पिरो राखेका खानेकुरा तथा कफी, चिसोजस्ता पेय पदार्थ नपिए माइग्रेनको उपचारमा सहयोग मिल्छ । जंकफुडहरू खानु हुँदैन । तनाव व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हो । मानसिक समस्याका लागि औषधिसहित ध्यान र योगा गर्नुपर्छ ।
•    माइग्रेनका बिरामीका लागि दुखाइ कम गर्नको लागि स्काप अकुपञ्चर विधि अपनाइन्छ, जसलाई वाई.एन.एस.ए. भनिन्छ । यो विधिअन्तर्गत शरीरका केही विन्दुमा प्रेसर गरेर दुखाइ कम गरिन्छ । जुन विन्दुले मस्तिष्कलाई आनन्द महसुस गराउने हर्माेन निकाल्छन्, ती विन्दुमा अकुपञ्चरको माध्यमद्धारा प्रेसर दिइन्छ । माइग्रेन निको पार्न बाहिरबाट रासायनिक पदार्थ नदिइने भएकाले साइड इफेक्ट कम हुन्छ ।
•    माइग्रेनलाई बढावा दिने अरु पक्ष पनि हुन्छन् । कसैलाई गर्दन दुख्नासाथ टाउको दुख्न थाल्ने हुन्छ । आँखाको समस्याले पनि टाउको दुख्न सक्छ । पिनास रहेसम्म माइग्रेन निको हुँदैन । माइग्रेन निको हुन समय लाग्छ ।

के माइग्रेन पूर्णतया ठीक हुन्छ ?
माइग्रेनलाई पूर्णतया ठीक नहुने रोग मानिदैँ आइएको छ । तर अकुपञ्चर प्रविधिबाट माइग्रेन निको पार्न एकदेखि तीन हप्तासम्म लाग्न सक्छ । बिरामीले उपचार विधिको अनुशासन पालना गर्ने हो भने माइग्रेन पूर्णतः निको हुन्छ । 

माइग्रेनका बिरामीले के गर्ने ? के नगर्ने ?
•    बढी मानसिक चिन्ता नलिने ।
•    चिया र कफीको अत्यधिक सेवन नगर्ने ।
•    राती समयमै सुत्ने र समयमै उठ्ने ।
•    गुन्द्रुक, तामा तथा सिसीमा राखिएको पुरानो अचारको सेवन नगर्ने ।
•    पीडा कम गर्ने औषधी बढी मात्रामा (पेनकिलर) प्रयोग नगर्ने ।
•    ब्राउन चकलेट आदि कम मात्रामा खानुपर्छ ।
•    घाममा धेरै बेर नबस्ने, यदि घाममा हिंड्नुपरे छाता प्रयोग गर्ने ।
•    ध्यान, योगा, प्रणायम गर्ने ।
•    साथीभाइसँगको मित्रता बढाउने ।
•    घुम्न जाने, रमाईलो गर्ने । 

माइग्रेनको पीडा कम भइसकेको थियो तर फेरि बल्झियो भनेर धेरै जनाले भन्ने गर्छन् । यस्तो किन हुन्छ त ? माइग्रेनको पीडा कुन अवस्थामा बढी बढ्छ ?
•    केश रंगाउँदा ।
•    केशमा पुरानो मेथी र तेल लगाउँदा ।
•    राति समयमा नसुत्दा ।
•    कसै–कसैलाई च्याउ खाँदा पनि माइग्रेन बल्झिएको पाइन्छ । 
•    मनमा धेरै कुरा खेलाउँदा ।
•    पानी पर्याप्त मात्रामा नखाँदा ।
•    तनाव र थकान बढी हुँदा ।
•    भीडभाड, धुँवाधुलोमा लामो समयसम्म रहँदा ।

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment