जलबिन्दुले गर्दा हुने अन्धोपनको प्रकोप बढ्दो, कसरी जोगिन सकिन्छ ?

  • 19th October, 2021

जलबिन्दु भनेको के हो ?

जलबिन्दु भनेको एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टि सम्वन्धि स्नायु (अप्टिक नर्भ) मा क्षति पुर्याउँदछ । जलबिन्दुको प्रारम्भिक चरणमा केहि लक्षणहरुमात्र देखिने वा कहिलेकाँही कुनैपनि लक्षण नदेखिने पनि हुनसक्छ ।
कुनै लक्षण र चिन्हहरु नदेखिईकन नै दृष्टिबिहिन बनाउने भएकाले यसलाई अत्यन्त चुनौतिपूर्ण रोगको रुपमा लिने गरिएको छ । समय समयमा आँखाको जाँच नगराउने र सानातिना समस्या भन्दै आँखाको उपचारमा हेलचेक्र्याई गरेमा जलबिन्दुले मानिसलाई दृष्टिबवहिन समेत बनाउन सक्छ ।
आँखाको भित्रि चाप (इन्ट्रा अक्युलर प्रेसर) बढ्नु जलबिन्दुको जोखिमको मुख्य कारण हो । एउटा स्वस्थ आँखाको  गेडीमा एक प्रकारको सफा पानी जस्तो तरल पदार्थ हुन्छ जसलाई मेडिकल भाषामा एक्युस ह्युमर भनिन्छ । यो एक्युस ह्युमर जुन गतिमा बगेर सकिन्छ त्यहि गतिमा उत्पादन हुन्छ ।
एक्युस ह्युमरको उत्पादन मात्रा बढी भई अवरोध भएर निकास हुन नसकेको अवस्थामा आँखाको चापमा वृद्धि हुन्छ । बढेको आँखाको भित्रि चाँपले दृष्टि सम्वन्धि स्नायुलाई धक्का लगाउँछ र बिस्तारै क्षति पुर्याउदै जान्छ । जलबिन्दुका कारण हुने दृष्टिबिहिनताको अवस्था  क्रमशः बढ्दै जाने हुन्छ । यो प्रकृया प्राय छेउछाउका दृष्टि हराउँदै गएर शुरु हुन्छ ।
आँखाको बढ्दो चाप (इन्ट्रा अक्युलर प्रेसर) लाई दृष्टि सम्वन्धि स्नायु निर्माण गर्ने स्नायू रेशाहरुलाई बिस्तारै बिगार्ने कारणका रुपमा समेत लिने गरिन्छ ।

जलबिन्दुको खतरा कसलाई रहन्छ ?
जलबिन्दुको खतरा निम्न मानिसहरुमा बेसी हुन्छन् ।
१) ४० भन्दा बेसी उमेर
२) जलबिन्दुको पारिवारिक इतिहास भएमा
३) परको वा नजिकको दृष्टि कम हुने हरुमा
४) आँखाको प्रेसर बेसी भएमा
५) आँखामा पुरानो चोट लागेको इतिहास भएमा
६) धेरै पातलो कोर्निया हुने हरुमा
७) रक्त–प्रवाह सम्बन्धित शारिरिक बिमारी जस्तै मधुमेह, माइग्रेन, कम ब्लड–प्रेसर आदि ।
८) आँखाको अप्रेसन
९) स्टीविक नामक औषधिको लामो समयसम्म प्रयोग 
१०) आखाँको दानाको लम्बाई लामो या छोटो भयो भने 
११)मोतिबिन्दुको समयमै उपचार गराएन भने
१२) आँखाको रोग लामो समयसम्म भइराख्यो भने 

जलबिन्दुको संकेत वा लक्षण के के हुन् ?
जलबिन्दुका संकेत यिनका प्रकार र स्टेजमा भर पर्छन् । सामान्यतय प्रारम्भिक स्टेजमा यसको कुनै स्पस्ट संकेत हुँदैनन् । विरामी बढ्दै जाँदा बिस्तारै दृष्टिमा कमि हुँदै जान्छन् र अन्तिम स्टेजमा खाली बीच भाग मात्र देखिने ( टनेल भिसन ) हुन सक्छ । यसरी जलबिन्दुले बिस्तारै स्थायी रुपमा अन्धोपन गराउने कारण यसलाई ‘दृष्टि चोर’ पनि भनिन्छ । आँखाको प्रेसर बढेको बेलामा आँखा दुख्ने, प्रकाशको वरपर इन्द्र–धनुष जस्तो रंगहरु देखिने, आँखा रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन सक्छन् ।

जलबिन्दुका प्रकार
सामान्यतया जलबिन्दु निम्न प्रकारका हुन्छन् ।
१) ओपन–एंगल जलबिन्दु – यो सबै भन्दा सामान्य प्रकारको जलविन्दु हो । आँखामा पानी निकास गर्ने एंगलमा हुने ट्राबेकुलर मेस्वोर्कको असक्षमताले गर्दा यो प्रकारको जलबिन्दु हुन्छ । यसमा बिस्तारै आँखाको दृष्टि कम हुँदै जान्छन । थाहा नै नपाई आँखाको ओप्टिक नर्वमा क्षति पुगिरहेको हुन्छ ।

२) क्लोस–एंगल जलबिन्दु– यसप्रकार को जलबिन्दु एंगलमा आइरिसको अबरोधले गर्दा हुने गर्दछ । यसप्रकार आँखामा अचानक प्रेसर बढ्ने, आँखा दुख्ने, रातो हुने, वाकवाकी लाग्ने जस्ता लक्षणहरु देखिन्छन् ।

३) कोल्जेनिटल जलबिन्दु – यो एक दुलर्भ प्रकारको जलबिन्दु हो जुन सानो नवजात बच्चामा हुने गर्दछ । यो प्राय बंशानुगत कारणले हुन्छन् । आँखा सामान्य भन्दा ठुलो देखिने, पानी आउने, प्रकाशमा आँखा खोल्न नसक्ने जस्ता लक्षणहरु यसमा देखिन्छन् ।

४) सेकेन्डरी जलबिन्दु– अरु कारणहरुको परिणामले गर्दा हुने जलबिन्दु । जस्तै – पुरानो चोट, लामो समय सम्म स्टेरोइड दवाइको प्रयोग, अरु ट्युमर आदि ।
सबै जलबिन्दुका बिरामीमा आँखाको प्रेसर बढी नै हुन्छ भन्ने छैन । आँखाको नर्मल प्रेसर २१ मर्करी भन्दा कम हुन्छ । आँखाको प्रेसर लगातार २१ मर्करी भन्दा कम भए तापनि ओप्टिक नर्व क्ष्यतिग्रस्त हुन सक्छ । यसलाई नोर्मल टेन्सन जलबिन्दु भनिन्छ ।
कुनै–कुनै व्यक्तिमा आँखाको प्रेसर लगातार २१ मर्करी भन्दा बढी रहेतापनि ओप्टिक नर्व क्षतिग्रस्त नभएको हुन सक्छ जसलाई ओकुलर हाइपरटेन्सन भनिन्छ । तर, यस प्रकारमा ओप्टिक नर्व क्षतिग्रस्त हुने÷जलबिन्दु हुने सम्भावना धेरै हुन्छ त्यसैले समयमै उपयुक्त उपचार गर्न जरुरी हुन्छ ।

जलबिन्दु भएको कसरी थाहा पाउने ?
समयसमयमा आँखा अस्पताल गएर आँखा चेकअप गराइराख्नुपर्छ । जलबिन्दु छ कि छैन भनेर निम्न प्रविधिले जाँच गर्न सकिन्छः

  • आँखाको प्रेसर जाँच गर्ने प्रविधि 
  • दृष्टि परिधि जाँच 
  • ओ.सि.टी

जलबिन्दुका उपचार पद्धतिहरु
 जलबिन्दुले गर्दा क्षति भइसकेको दृष्टि फर्काउन सकिँदैन तर नियमित उपचारले जलबिन्दुबाट हुन सक्ने अरु नोक्सानबाट बचाउन सकिन्छ । आँखाको प्रेसर कम राख्ने र ओप्टिकल नर्भलाई अरु क्षतिग्रस्त हुन नदिनु जलबिन्दु उपचारको प्रमुख उद्देश्य हो ।
१) मेडिकल ड्रप्सबाट उपचार अर्थात आँखामा हाल्ने आइ ड्रपको माध्यमबाट – मेडिकल ड्रोप्स  सबभन्दा सामान्य उपचार हो । आँखाको अकुएस ह्युमोर बन्न कम गराउने वा यसको निकास बढाउने तरिकाबाट यी दवाइले गर्छन् । यी ड्रप्सहरु नियमित रुपले डाक्टरको सल्लाह अनुसार प्रतिदिन प्रयोग गर्नु जरुरी छ । डाक्टरको सल्लाह नलिई यी ड्रप्स बदल्नु या बन्द गर्नु हुन्न ।
२) शल्यक्रिया तथा लेजर उपचार–केही रोगीहरुमा शल्यिक्रिया (ट्राबेकुलेक्टोमी÷ ड्रेनेज डिवाइस) कोे जरुरी हुन सक्छन । क्लोज–एंगल जलबिन्दुमा लेजरबाट आँखाको खैरो भाग (आइरिस) मा सानो दुलो बनाइन्छ (लेजर इरिदोटोमी)  । अन्तिम स्टेजमा, दृष्टिको सम्भावना नभएको अनि धेरै दुखेको आँखामा दुखेको कम गर्न दाइवोद लेजर फोटो–कोएगुलेसन गरिन्छ ।
जलबिन्दु भइसकेपछि दृष्टि फर्काउन सकिदैँन । 
जलबिन्दुले गर्दा हुने अन्धोपनको प्रकोप बढ्दो छ । बिश्व स्वास्थ्य संगठनका अनुसार जलविन्दु विश्वभर दृष्टिविहिन गराउने प्रमुख कारणहरु मध्ये दोश्रो समस्या हो । नेपालमा पनि यो अन्धोपनको मुख्य कारणहरु मध्ये पर्दछ । जलबिन्दु भएर क्षति सकेपछि दृष्टि फर्काउन सकिन्न तर समयमै रोगको पहिचार गरी उपचार सुरु गर्न सकियो भने थप नोक्सान हुनबाट बचाउन सकिन्छ । जलबिन्दुको पारिवारिक इतिहास भएमा जलबिन्दु हुनसक्ने १० गुणा बेसी खतरा हुन्छ, त्यसैले परिवारका सबै सदस्यहरुले पनि आँखा–जांच गराउनु उपयुक्त हुन्छ ।

ध्यान राख्नैपर्ने कुरा ः
जलबिन्दुको समस्या समयमै पहिचान गरी उपचार शुरु गर्नसकेको खण्डमा र चिकित्सकको सुझाव अनुसार नियमित औषधि प्रयोग गरेर यसवाट हुनसक्ने अन्धोपनबाट बच्न सकिन्छ ।

 

Our top doctor on General Physician

View All

Dr. Kabir Nath Yogi

General Physician

MBBS, MD, Consultant Physician & Chest Specialies

Dr. Kanak Bahadur KC

General Physician

MBBS, Senior Fellowship in clinical cardio-vascular medicine (General Physician)

Dr. Dipak Malla

General Physician

MBBS, MD Internal Medicine (General Physician) Endocrine Unit (Diabeties, Thyroid & Endocrinology). 

Dr. Anil Baral

General Physician

DM (Nephrology) MD (Internal Medicine)

Leave Comment