सुन्दर आँखाको लागि अकुलोप्लाष्टि गर्ने हैन त ?

  • 2nd November, 2022

अकुलोको अर्थ आँखा र प्लास्टिको अर्थ बनाउने हो । यसले बढीभन्दा बढी आँखा र आँखाको वरिपरीका रोगहरुलाई सम्बोधन गर्छ । अर्थात् आँखालाई बढीभन्दा बढी सुन्दर बनाउनमा मद्धत गर्छ । अकुलोप्लाष्टीले समेट्ने भनेको आँखाको डिलको रोग, आँखाको ढकनीको रोग, आँखा बस्ने वरिपरीको भागको रोग, आँसुको नलीको रोग आदि पर्छन् । यसका साथै हरेक प्लास्टिक रि—कस्ट्रक्टिभ सर्जरीमा कस्मेटिक सर्जरी पनि जोडिएको हुन्छ । यस विधामा मानिसको रोग निर्मुल सँगसँगै प्राकृतिक रुपमा भएको सुन्दरता पनि कायम राख्ने भन्ने हुन्छ । यसरी आँखा र आँखाको वरिपरि गरिने प्लाष्टिक सर्जरीलाई नै अकुलोप्लाष्टि सर्जरी भनिन्छ । 
बढ्दो उमेरको कारणले आँखामा देखिने रोग मात्रै होइन दुर्घटनामा परेर आँखाको आकार बिग्रेको अवस्थामा पनि अकुलोप्लाष्टि मार्फत लाभ लिन सकिन्छ । यो शल्यक्रिया अर्थात अकुलोप्लाष्टि गर्दा भर्ना हुन नपर्ने र एकै दिनमा अर्थात शल्यक्रिया गरेकै दिन घर फर्किन सकिने हुन्छ ।

अकुलोप्लाष्टि  गर्ने अवस्था

  • परेला घरिघरि भित्र छिरि राखेमा ।
  • आँखा वरिपरि देखिने मासु पलाएमा ।
  • फोटो खिचाउँदा सेतो नानी देखेमा ।
  • जन्मदा देखिनै आँसु बगिरहेमा ।
  • आँखा भित्रको झिल्लीमा मासु पलाएमा ।
  • र, सौन्दर्यका हिसाबले हेर्ने हो भने निम्न अवस्थामा अकुलोप्लाष्टि गर्न सकिन्छ ।
  • आँखाको मुन्द्रि नभएको,
  • आँखाको छाला चाउरी परेमा,
  • आँखी भौँ तल झरेमा,
  • आँखाको वरिपरी कोठी निस्किएको खण्डमा,आँखाबाट निरन्तर आँशु, चिप्रा वा फोहोर पानी बगिरहने ।
  • आँखाको कुना, नाकको भागतिर थिच्दा आँखाबाट पिप निस्कने ।
  • आँखाको वरिपरी सुन्निने, दुख्ने, रातो हुने र ज्वरो आउने ।
  • आँखाभित्र केही परेको जस्तो महसुस भएमा ।
  • आँखा बाहिरतिर आएको अथवा ज्यादै ठुलो र डर लाग्दो देखिएमा ।
  • छाला चाउरी परेर परेली भित्र अथवा बाहिर फर्केमा ।
  • यदि आँखा वरिपरी पहिले नै रहेको कोठी चिलाउन, रङ फेरिन, ठुलो हुन र रगत बग्न थालेमा ।
  • आँखाको ढकनी माथि या तल बोसो निस्किएमा या सुन्निएको जस्तो देखिएमा,
  • आँखाको मासु र बोसो सुक्दै जाने रोग लागेमा र
  • आँखा वरिपरि कालो घेरा अर्थात् डार्क सर्कल आएमा

आँखा नजिकै चाउरी परेको छ । आँखाको ढकनी लत्रिएको समस्या छ । आँखाको ढकनी नै बन्द नहुने समस्या छ भने चाउरी परेको आँखा नजिकैको छालालाई इन्जेक्सन लगाएर सिधा बनाउन सकिन्छ । लत्रिएको आँखाको ढकनीको सौन्दर्यता फिर्ता ल्याउन कस्मेटिक सर्जरी गर्नुपर्छ । आँखाको ढकनी राम्रोसँग नखुलेका कारण कतिपय बालबालिकाको आँखा सानो ठूलो देखिने समस्या हुनसक्छ । दृष्टि ढाकेको अवस्थामा भविष्यमा आँखा देख्न नसक्ने संभावना भएकाले एक वर्ष नपुग्दै शल्यक्रिया गरेर समाधानको विकल्प खोज्नुपर्छ । कतिपयको त आँखाको ढकनी नै बन्द नहुने समस्यामा सुक्खा भएर आँखामा घाउ हुने र आँखाको नानी फूट्नसक्छ । यस्तो अवस्थामा तत्काल थेरापेटिक र कस्मेटिक दुवै सर्जरीको जरुरत पर्छ ।
अकुलोप्लाष्टिअन्तर्गत आँखाबाट निरन्तर आँशु वा पिप बगिरहने बिरामीको उपचार, आँखा वरिपरी बोसो, मुसा, मासुको डल्लो र ट्युमर हटाउने, उमेरको कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तलतिर सरेको उपचार, रोगका कारण आँखा साना वा ठूला भएको उपचार गरिन्छ । यसैगरी आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, आई ब्रो चिक लिफ्टिङ, अनुहारको चाउरीपन यसैअन्तर्गत पर्दछन् ।
हामीले दृष्टि दोष, उच्चरक्ताप, मधुमेह, थायराइड, बाथरोग र शरीरका अन्य भागका लागेका रोगहका कारण आँखामा पर्ने असरको समेत जाँच गर्दछौं । करिब ८० प्रतिशत थायराइडका कारण आँखामा समस्या भएको पाइएको छ । थायराइडका कारण आँखाको नरम टिस्यूहरुमा एन्टी बडी बनेर आँखाभित्र मासु र पानी भरिएर आउँछ । यसले आँखालाई बाहिर धकेल्छ र आँखाको गेडा डरलाग्दो तरिकाले बाहिर निस्कनसक्छ । आँखामा हुने ट्यूमर क्यान्सर रेटिनोब्लास्टोमा आँखाको ट्यूमरहरुमध्ये धेरैलाई हुने समस्या हो । यो प्रायः बच्चाहरुमा धेरै हुने गर्छ । क्यान्सर, दुर्घटनाबाट आँखा पूरै ड्यामेज भएमा प्रोस्थेटिक (नक्कली) आँखा बनाउनुपर्छ । देख्न नसकेपनि यसले आँखाजस्तै सौन्दर्यता कायम राख्छ ।