Sleeping Disorder (निद्रा असन्तुलन)
-
- 25th July, 2021
निद्रा असन्तुलन अर्थात स्लिपिंग डिसअर्डर भनेको के हो ?
निद्रा नलाग्नु अर्थात राती सुत्दा निन्द्रा नपर्ने, नानाथरीका कुरा मनमा खेल्ने, निदाएको बेला झसङ्ग भएर बिउँझिने हुनुलाई निद्रा राम्रोसँग नलागेको भनिन्छ । लामो समयसम्म राम्रोसँग निद्रा परेन भने त्यसलाई निद्रा असन्तुलन भनिन्छ ।
निद्रा असन्तुलनको कारणहरुमा मनमा पीर चिन्ता पर्नु, केही कुराको डरले सताउनु, कार्यालयमा तनाव वा धेरै कामको बोझ हुनु, अपर्याप्त निन्द्रा र थकानको कमी, भुइँचालो, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप तथा मानव सिर्जित दुर्घटना, विनाश वा नजिकका व्यक्तिको मृत्यु पनि हुन सक्छ ।
लामो समयसम्म एउटै कुरा मनमा आइरहेर या चिन्ता लागेर निद्रा राम्रोसँग लागेको छैन भने मनोपरामर्श लिनुपर्छ । निद्रा शरीरको लागि अत्यन्तै आवश्यक कुरा हो । लामो समयसम्म निद्रा परेन भने स्वास्थ्यसम्बन्धी अरु समस्याहरु आउने र जटिलताहरु बढ्ने खतरा हुन्छ ।
निद्रा असन्तुलन हुने कारणहरू केके हुन् ?
आजका मानिसको प्रतिस्पर्धात्मक दौडधूप, तनावपूर्ण दैनिकी, अनियन्त्रित खानपिन, बढ्दो प्रदूषण, विद्युतीय उपकरणसँगको लगातार सम्पर्क, अन्तरनिहित आकाङ्क्षा आदि अनिद्राका सहायक कारणहरू हुन् । यदि अनिद्रा समस्याको रूपमा छ भने त्यसको बेवास्ता नगरी समयमै उचित परामर्श वा उपचारमा जानुपर्छ वा त्यसका लागि लयबद्ध अथवा व्यवस्थित दिनचर्या बनाउनुपर्छ । सुत्नेबेलामा समेत प्रसन्न चित्त भई खुकुलो र शुद्ध कपडा लगाई सफा ओछ्यानमा, हल्लाखल्लारहित वातावरणमा, घुँडाजति अग्लो पलङ्गमा नरम र सफा सिरानी पूर्व वा दक्षिणतर्फ राखी उत्तम चिन्तन गर्दै सुत्नुपर्छ । पानी खानेवित्तिकै सुत्नु हुँदैन केहीअघि खाएमा चाहिँ फाइदा हुन्छ । विभिन्न अध्ययनको निचोडअनुसार राति सुत्नुभन्दा एक घण्टाअघि पिएको पानीले हृदयाघात हुनबाट समेत बचाउँछ ।
निद्रा असन्तुलनले हुने असरहरु केके हुन् ?
–मांशपेशीको दुखाइ, टाउको दुखाइ र थकाइ हुने ।
– स्मरण शक्तिको ह्रास हुँदै जाने ।
– चिन्ता, तनाव, मानसिक समस्या र डिप्रेसन हुनसक्ने ।
– दु्रत निर्णय प्रक्रियामा असर पर्ने ।
– हात काम्ने, आँखाको डिल सुन्निएको देखिने, रक्तचाप बढ्ने, तनाव बढाउने हर्मोनको तह बढ्ने, आँखाको अनियमित चाल देखापर्ने, झर्किने र छटपटाहट हुने ।
– मधुमेह रोगको खतरा हुने ।
– रोगविरुद्ध लड्ने प्रतिरोध क्षमतामा कमी आउने ।
– मोटोपना
– मानसिक रोग ।
के दिउँसो झप्की लिनु राम्रो हो ?
रातमा मात्र होइन दिउसो पनि आराम गर्नु र एक झप्को निदाउनु स्वास्थ्यका लागि राम्रै मानिन्छ । तर कोहीकोही मानिस यस्ता पनि हुन्छन् जसलाई दिउँसो धेरै निद्रा लाग्ने गर्छ । हामी सबैले महसुस गरेकै कुरा हो हामी चाहे जस्तो सुकै महत्वपूर्ण काममा संलग्न भएको किन नहोस् दिउँसो एक पटक निद्रा लागेर आउँछ । वैज्ञानिकहरुका अनुसार दिउँसो मध्यान्हमा मानिसको सरीरमा उर्जाको मात्रा कम हुने गर्छ । उर्जाको मात्रा कम हुनुले नै मानिसलाई दिउसोमा अल्छी लाग्छ र सुत्न मन लाग्छ । दिउँसो केहीबेर सुत्नु नराम्रो होइन । तर यदि दिउँसो निकै धेरै निन्द्रा लाग्यो भने त्यो स्वास्थ्य समस्याको एउटा कारण हो । त्यसैले दिउँसो धेरै निद्रा लाग्ने समस्या छ भने डाक्टरसँग परामर्श लिनुपर्छ ।
धेरै निद्रा लाग्नुको कारण के हो ?
तपाईंलाई दिनभर थकान महसुस हुन्छ, आलस्य आउँछ र सुत्न मन लाग्छ भने त्यसको एउटा कारण तपाइँलाई अघिल्लो रात राम्ररी निद्रा नपरेकोले हुनसक्छ वा निद्रा बिथोलिएकाले पनि हुनसक्छ । अनियमित जिवनशैलीका कारण रातमा पर्याप्त र मीठो निन्द्रा नपर्दा दिउसो निद्रा आउने तथा आलस्य जाग्ने हुन्छ ।
तपाईंले खाइरहेको औषधीको कारण पनि तपाईंलाई धेरै निद्रा लागिरहेको हुनसक्छ ।
निद्रा सन्तुलनको लागि के गर्ने ?
१.सुत्ने र उठ्ने समय नियमित बनाउनुहोस् ।
दिउँसो सुत्न रमाइलो होला तर राति निद्रा नपर्न सक्छ । सधैँ एउटै समयमा सुत्न जानुहोस् र उठ्ने समय पनि नियमित बनाउनुहोस् ।
२. अँध्यारोमा बस्नुहोस्
सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ । निद्राका लागि आवश्यक महत्त्वपूर्ण हार्मोनका लागि शरीरले अँध्यारो खोज्छ । विकासको एउटा नराम्रो पक्ष भनेको हामी निरन्तर उज्यालोमा हुन्छौँ । सुत्नुअघि कोठाको उज्यालो कम गरेर हामी अँध्यारो बनाउन सक्छौँ ।
यसको अर्थ मोबाइल वा टीभी वा कम्प्युटरको स्क्रीनबाट पर रहनु पनि हो। स्क्रीनले ’नीलो प्रकाश’ निकाल्छ जसले निद्राको हार्मोन मेलटोनिनको प्रभावलाई निस्तेज पारिदिन्छ । त्यसैले सुत्नुभन्दा एक घण्टा पहिल्यै नीलो प्रकाशका स्रोतहरू बन्द हुनुपर्छ ।
३.तापक्रम घटाउनुहोस्
कोठाको तापक्रम कम राखे निद्रा पर्न सजिलो हुन्छ। प्राकृतिक रूपमै तापक्रम २४ घण्टाभित्र कहिले कम कहिले बढी हुन्छ । तापक्रम घट्दा निद्रा पनि पर्छ । तर हिजोआज हामी एउटै तापक्रममा बस्न खोज्छौँ । निद्रा पर्न हाम्रो मस्तिष्क र शरीरको भित्री तापक्रम झन्डै एक डिग्री सेल्सियसले घट्नुपर्छ ।
त्यसैले तापक्रम नियन्त्रण गर्न मिल्ने अवस्थामा १८ डिग्री सेल्सियसमा सुत्नुहोस् ।
४. ओछ्यान सुत्नका लागि मात्रै
सुत्न र अन्य सीमित क्रियाकलापका लागि मात्र ओछ्यानमा जानुहोस् । खाना खान, पढ्न वा खेल्न होइन । हाम्रो मस्तिष्कले छिट्टै दुई वस्तुबीच सम्बन्ध स्थापित गर्छ। त्यसैले हामीले ’ओछ्यान सुत्नका लागि हो’ भन्ने सन्देश दिनुपर्छ ।
यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ। त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ ।
५. कफी कम खानुहोस्
दिउँसो हामी कोला, कफी, चिया वा अन्य पेयपदार्थ पिउँछौँ । तिनमा हुने क्याफिन र थिनजस्ता तत्वले हाम्रो स्नायुप्रणालीमा रमाइलो प्रभाव देखाउँछन् । सुत्नुभन्दा १२ घण्टाअगाडि मात्रै कफीजस्ता पेय पदार्थ पिउनुहोस् ।
कफीको ’हाफ लाइफ’ हुन्छ । त्यसैले यसको प्रभाव छ घण्टासम्म आधा र नौ घण्टासम्म तीनचौथाइ एक्प्रेसो खाएजति बाँकी हुने उनी बताउँछन् ।
त्यसैले सुत्ने बेलामा रगतमा कफीको मात्रा बाँकी नभएकै राम्रो हुन्छ ।
६. मदिराबारे विचार गर्नुहोस्
प्रायः मानिसहरू मदिराले निद्रा पार्छ भन्छन् । तर यो सत्य होइन । मदिरा पिएर लागेको निद्राले स्वास्थ्य र सपनालाई राम्रो गर्दैनन् ।
Leave Comment