धेरै भावुक हुनु वा दुःखी हुनु डिप्रेसनको संकेत
-
- 19th June, 2022
अहिले डिप्रेसन भनेको धेरै सामान्य भइसकेको छ । डिप्रेसन पहिले रोग हो भन्नेबाट अहिले डिप्रेसन कसलाई हुँदैन र ? भन्ने भइसकेको छ । डिप्रेसन पागलपन होइन । डिप्रेसन एउटा मनोरोग हो । यसले अन्य धेरै शारीरिक रोगहरुलाई जन्म दिन्छ र सामाजिक रुपमा पनि धेरै असर गर्छ । डिप्रेसन जसलाई पनि हुनसक्छ, सामान्य देखिने खुसी मानिस पनि यसको सिकार हुन सक्छन् । तसर्थ, यसका लक्षणहरू समयमै पहिचान गर्नुपर्छ ताकि यसले भविष्यमा कुनै गम्भीर रुप नलियोस् । डिप्रेसन हुँदै छ कि छैन भनेर हामी आफैँले थाहा पाउन सक्छौँ । डिप्रेसनका लक्षणहरु निम्नानुसार छन्ः
मन डराउने
एक्कासी डर लाग्ने । उज्यालोमा आउन डर लाग्छ । सबै कुराको अन्त्य हुन लागेको अनुभूति हुन्छ । अचानक पसिना आउँछ र केही नराम्रो हुन लागेको जस्तो देखिन्छ । घर बाहिर निस्कन डराउने र मानिसहरू भेट्न हिचकिचाउने पनि डिप्रेसनको लक्षण हुनसक्छ ।
बिना कारण धेरै दुखी हुनु वा भावुक हुनु
यदि हामीलाई विना कारण दःुख महसुस भइरहेको छ भने हामी सचेत हुनुपर्छ । पहिले दुःखको कारण पहिचान गर्ने प्रयास गर्नुपर्छ । दुःखी हुनुपर्ने कुनै कारण छैन र हामी दुःखी भइरहेका छौँ वा अनावश्यक धेरै भावुक भइरहेका छौँ भने हामीलाई के भएको छ ? यसबारे बुझ्न प्रयत्न गर्नुपर्छ । त्यसपछि अन्य लक्षणहरू हेरेर मनोचिकित्सकलाई देखाउनुपर्छ ।
धेरै निद्रा लाग्नु वा निद्रा नलाग्नु
डिप्रेसन भएका व्यक्तिलाई धेरै अल्छि लाग्छ । ओछ्यानबाट उठ्ने मन नहुने, सधैं थकित अनुभूति गर्ने र कसैलाई भेट्न रुचि नहुने हुन्छ । या त उनीहरु पटक्कै सुत्दैनन् र कहिलेकाहीँ धेरै सुत्छन् ।
विना कारण रिसाउने
विना प्रसङ्ग रिसाउनु, झिझिनु र राम्रा कुरामा पनि बहस गर्नु, कुनै पनि कुरामा झगडा गर्नु, रुनु, चिच्याउनु र घण्टौंसम्म एक्लै बसेको महसुस गर्नु पनि डिप्रेशनको संकेत हो
शरीरमा ठाउँ ठाउँमा दुखाइ
डिप्रेसन भएका व्यक्तिको कहिले ढाड दुख्ने त कहिले टाउको दुख्ने । शरीरको जुनसुकै भागमा दुखाइ हुन सक्छ । यो दुखाइ मानसिक तनावका कारण हुन्छ र छिट्टै निको हुन्छ । तर, यदि तपाईंलाई लगातार ढाड दुख्ने हो भने यो डिप्रेसन हुन सक्छ ।
आफूलाई हानी पुर्याउने विचार
सानातिना कुरामा जीवन समाप्त गर्ने सोच मनमा आउँछ । आफूले आफैँलाई चोट पुर्याउने र यो संसारमा जिउने कुनै कारण छैन जस्तो लाग्छ भने यो एकदमै हानीकारक विचार हो । जति गर्दा पनि हामीले यस्ता खालका विचारहरुलाई हटाउन सक्दैनौँ भने मनोपरामर्श लिनुपर्छ ।
कुनै कुरामा ध्यान दिन नसक्नु
हामी कोसिस गर्दागर्दै पनि आफ्नो काममा फोकस गर्न नसक्नु र काम दोहोर्याइरहने । काममा त्रुटि हुने र पटक–पटक गडबड हुने पनि यसको संकेत हुनसक्छ । १०० सम्म गन्दा पनि गणना गर्न कठिनाई हुन्छ । डिप्रेसन छ भने हामीले यस्ता समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।
भोक नलाग्ने 
डिप्रेसन छ भने हामीलाई मनपर्ने खाना अगाडि आउँदा पनि खान मन लाग्दैन । यस्ता व्यक्तिको तौल पनि घट्न थाल्छ र चिडचिडाहट हुन थाल्छ ।

Leave Comment